Mon. Nov 23rd, 2020

युट्युबमा सबैभन्दा बढी डिस्लाइक हुने भिडियोमध्येको ‘सडक-२’को ट्रेलर तेस्रो स्थानमा

गत बुधबार सार्वजनिक महेश भट्टद्वारा निर्देशित फिल्म ‘सडक-२’को ट्रेलर पाँच दिनदेखि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा छ। हालसम्म यसले ५ करोड ७ लाख बढी भ्यूज कमाएको छ। तर भिडिओमा लाइकभन्दा बढी डिस्लाइक छ। भिडिओमा १ करोड १० लाख बढीले डिस्लाइक गरेका छन्, भने लाइक गर्ने ६ लाख २४ हजार पुगेको छ। योसँगै भिडिओ हालसम्म युट्युबमा सबैभन्दा बढी डिस्लाइक हुने भिडियोमध्येको तेस्रो स्थानमा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

 

दैनिक भास्करका अनुसार हालसम्म संसारकै सबभन्दा बढी डिस्लाइक भएको युट्युब भिडिओ सन् २०१८ मा सार्वजनिक ‘युट्युब रिवाइन्ड-२०१८’ हो। यसमा १ करोड ८२ लाख बढी डिस्लाइक छ।त्यसपछि नम्बर २ मा एक दशकअघि सार्वजनिक भएको गायक जस्टिन बिबरको ‘बेबी’ बोलको गीत छ। यसमा १ करोड १८ लाखले डिस्लाइक गरेका छन्।

 

सडक-२ सन् १९९१ मा महेश भट्टकै निर्देशनमा बनेको ‘सडक’ को सिक्वेलका रूपमा बनाइएको हो। सडकमा सञ्जय दत्त र पूजा भट्टको मुख्य भूमिका थियो र फिल्म हिट भएको थियो।सडक-२ मा सञ्जय दत्त, पूजा भट्टका साथमा आलिया भट्ट र आदित्य रोय कपुरको मुख्य भूमिका छ। फिल्म २८ अगस्टमा अनलाइन प्लेटफर्म डिज्नी प्लस हटस्टारमा रिलिज हुने बताइएको छ।

 

तर फिल्मको ट्रेलरलाई नै दर्शकले अस्वीकार गरेको देखिन्छ।अभिनेता सुशान्तसिंह राजपूतको मृत्युपछि बलिउडमा चर्केको ‘नेपोटिजम’ विवादको प्रत्यक्ष प्रभाव सडक-२ मा परेको हो।सुशान्तको मृत्युपछि ‘स्टार किड्स’ का फिल्म बहिष्कार गर्ने भनिरहेका दर्शकहरूले सडक-२ को ट्रेलरलाई सबभन्दा धेरै डिस्लाइक पाउने भिडिओ बनाएर रेकर्ड राख्न अपिल समेत गरिरहेका छन्।