Sat. Oct 24th, 2020

बलिउड अभिनेत्री मौनी रायले किन गरिन् ७ पटक कोरोना परीक्षण

बलिउड अभिनेत्री मौनी रायले कोरोना भाइरसको संक्रमण तीव्र भएसँगै अहिलेसम्म ७ पटक कोरोना परीक्षण गरेको बताएकी छन्।

उनले पछिल्लो ६ महिनामा आफूले ७ पटक कोरोना परीक्षण गरेको जानकारी दिइन्। एक भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भनेकी छन्, ‘केही असहज र गाह्रो महसुस भयो भने मैले परीक्षण गरिहाल्ने गरेकी छु, यो आवश्यक पनि छ।’

हाल माल्दिभ्समा रहेकी अभिनेत्री राय यो महामारीकै बीचमा विभिन्न देशमा घुमेकी थिइन्। लकडाउनकै बीचमा उनले युके, यूएई र माल्दिभ्स घुमेकी थिइन्। उनले परीक्षण रिपोर्ट नेगेटिभ आएपछि समुन्द्रको किनारमा बिनामाक्स घुम्न पाइने समेत जानकारी दिएकी छन्।

मुम्बई मिररसँगको कुराकानीमा मौनीले यो समय आफू बहिनीसँगै रहेको र चित्रकला सिकेको बताइन्। उनले आफू भान्सामा पस्न मन नपराउने भए पनि लकडाउनमा भने केही परिकार बनाएर आमालाई खुवाएको बताएकी छन्।