Sat. Oct 24th, 2020

सुशान्त सिंह राजपुत मृत्युको घटना – बलिउडमा ड्रग्स, दीपिका पादुकोणदेखि श्रद्धा कपुरसम्म

भारतीय अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको घटनाको अनुसन्धान अब बलिउडमा ड्रग्स (लागूऔषध) को जाँचसम्म पुगेको छ।

सुशान्तको मृत्युको मामिलामा लागूऔषधको कोणबाट अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले अभिनेत्रीहरु दीपिका पादुकोण, श्रद्धा कपूर, सारा अली खान र रकुलप्रीत सिंहलाई सोधपुछका लागि बोलाएको छ। उनीहरुसँग आज र भोलि सोधपुछ हुने तय भएको छ।

लागूऔषध प्रकरणसँग जोडिएका व्यक्तिहरुको ह्वाट्सएप च्याट पनि भारतीय सञ्चारमाध्यम मार्फत सार्वजनिक भएका छन्। हालै दीपिका पादुकोणको भनिएको एक ह्वाट्सएप च्याट सञ्चारमाध्यममा देखिएको छ, जसमा उनले कसैसँग लागूऔषध मागिरहेको बताइएको छ। उक्त च्याट केही वर्षअघिको भएको र डिलिट भइसके पनि अनुसन्धान अधिकारीहरुले फेला पारेको पनि सञ्चारमाध्यमहरुले बताएका छन्।

एनसीबीले बोलाएपछि दीपिका पति रणवीर सिंहको साथमा बिहीबार राति गोवाबाट मुम्बई पुगेकी छिन्। उनीसँग शनिबार सोधपुछ हुनेछ। यस्तै, सारा अली खान पनि मुम्बई पुगिसकेकी छिन्। उनको साथमा आमा अमृता सिंह पनि थिइन्। सारा र दीपिका फिल्मको छायांकनका लागि पछिल्लो केही दिनदेखि गोवामा थिए।

रकुलप्रीत र दीपिकाको मेनेजर करिश्मा प्रकाशसँग भने एनसीबीले आज सोधपुछ गर्दैछ। दीपिकासहित सारा अली र श्रद्धा कपुरको सोधपुछ भने शनिबार हुनेछ। यसअघि सुशान्त सिंहको मृत्युको घटनामा लागूऔषध पनि जोडिएपछि नार्कोटिक्स कन्ट्रोल ब्यूरोले उनकी प्रेमिका अभिनेत्री रिया चक्रवर्तीलाई ८ सेप्टेम्बर (२३ भदौ) मा पक्राउ गरिसकेको छ। त्यसअघि उनलाई ब्यूरोले सोधपुछ गरिरहेको थियो। रिया लागूऔषध कारोबारीसँग सम्पर्कमा रहेको र सुशान्तलाई लागूऔषध पुर्‍याउने गरेको आरोप लगाइएको छ।

उनले जमानतका लागि निवेदन दिएकोमा त्यस सम्बन्धी मुम्बई उच्च न्यायालयमा सुनुवाई २९ सेप्टेम्बरसम्म थाती रहेको छ।रियालाई पक्राउ गर्नु तीन दिनअघि लागूऔषध प्रकरणमै उनका भाइ शौविक चक्रवर्ती र सुशान्तका मेनेजर भइसकेका सेमुएल मिराण्डालाई ५ सेप्टेम्बरमा पक्राउ गरिएको थियो।ब्यूरोले बलिउडमा ड्रग्स प्रकरणमा अनुसन्धान र अन्य सोधपुछ जारी राखेको छ।