Wed. Oct 21st, 2020

प्रेमको रिवन (कविता)

समयको ऐनामा उभिएर हेर्छु

कति कुरूप रहेछु म

मैले देखेका सबै दृश्यहरू

धुवाँ बनेर गए आकाश तिर,

प्रेमको मसीले लेखेका कविता पढ्दा पढ्दै
बिर्सिएछु पढ्न जिन्दगीको पाठशाला !

 

धर्ती गोलो छ भनेर पढिरहँदा
गुडाउँदै बसेछु गुच्छा र भकुण्डो,
संगै गुडाएछु बच्चैमा आफ्ना लक्षहरू,

 

म डराएर भागिरहेछु -आफ्नै छायाँ सँग
जुन निकै कालो देखिन्छ
घरि लामो -घरि छोटो

 

गाउँ भरिका कुकुर संग लडेर रगताम्मे भएको कुकुर
पुच्छर हल्लाउँदै हिड्छ मेरै खुट्टा छोएर
मेरै स्वास्थ्य शिक्षालाई चुनौती दिएर
चाटीचाटी निको पार्छ आफ्नो आलो घाउ !

 

रूखको छहारीमा पुगेर
अधिनमा नभएको मन बोकेर आफैलाई हेरिबस्छु
कहाँ सम्म पुग्यो मेरो साम्राज्य ?

 

घरको धुरीमा बसिरहेछ सेतो परेवा
पखेटा सग्ला भएर पनि किन उड्दैन ?
म हेर्छु त्यसैवला देखिन्छ आकासमा
घुमिरहेको यौटा चिल !

 

कर्तब्य बाट निकै पर भागिरहेको म
हरेक रात जिन्दगी जिउनुको कारणको

ऐठनले थिचिएर छट्पटाईरहेछु
चिच्याईरहेछु
सपनामा किन देखिन्छ हिमालमा पहिरो झरेको ?

 

शान्तिको नारा लाउँदै हिडेको बालक
किन घुस्रिन आउँछ मेरै काखमा ?

पत्थर भन्दा अटल भएर हेरिरहन्छु
थाहा छैन किन मरिरहेछ म भित्रको संवेदना ?

सपनामा मेलवर्न र वासिन्टन डिसी दोहोरिरहन्छन्
म डराउँछु- के मलाई देशको माया छैन ?

यी जम्मै घटनाहरू माझ मुकदर्शक बनिरहेको बेला
मेरै अँगाडी फत्र्याक्क झर्छ वैलिएर गुँरासको फूल ।

 

कर्णालीका वेदना नसुन्ने मेरा कान छन्
लिलुपेक चहराईरहेको महसुस नहुने मेरो मुटु छ
सुस्तामा बाढी पसेको नदेख्ने आँखा छन् ।

 

म यस्तो विवस समय बाँचीरहेछु -म म नै हैन जस्तो

र पनि मनमा यौटा आँशाको विज अंकुरआईरहेछ
बाँध वलियो भए नदीले लय समाउँछ
संगीतमा सुर भए शब्दले माधुर्य पाउँछ
रूख हरियो भए चरीले वास पाउँछ
भूमि मलिलो भए फूल हरहर मगमगाउँछ ।

 

हो प्रियतम
तिमी मेरो जिन्दगीको यस्तो पर्खाल हौ
जसको आडमा म सारा ब्रह्माण्ड थेग्न सक्छु ,

त्यसैले प्रियतम
यो स्वर्णिय मौसमको
प्रेमिल साँझहरूमा
सिउरिन सकुँ तिम्रो शिरमा प्रीतको रिवन
म तिमीलाई यस्तो प्रेम दिन सकुँ
जहाँ सल्कियोस्
संसारै उज्यालो पार्ने
प्रेमको दियो !!

शेखर विकल्प